Friday, December 26, 2008

ती दिनहरू

रामेछाप जिल्ला ओख्रेनी गाबिसको डाँसिङ्टार भन्ने गाउँमा तीसको दशकमा फागुपूर्णिमाको साँझ घरमै दोश्रो छोराको रूपमा मेरो जन्म भएको हो । आमाको भनाइ अनुसार सबै साथीहरू गाउँमा लाग्ने फागुजात्रा गए रे, आमालाई पनि जाऊँ भनेका थिए रे । तर उहाँ जानु भएन र मेरो जन्म दिनुभो ।

बाल्यकाल मेरो गाउँमै जेठादाइ, गन्धेमामा, दलेमामा, सानेबाजे, हरिबाजे, भक्तेकाका, मानेदाइ, रामबाजेसँगसँगै जाडो, गर्मी, हावाहुरी, असिना, धूलो, धूवाँ, ढुं১गा, माटो, दाउरा, पानी, हिलो, झारपात, सेउँला, घाँस, गाईभैँसी, बाख्रा, कुख्रा, हलो, लठ्ठी, हँसिया, कोदालो, कोदाली, नाम्लो, डोरी, दाम्लो, खोला, पँधेरो, जँगल, चराचरुङ्गी, मृगको आवाज, कोइली, तित्रा, ढुकुर, जुरेली, टिकटिकेचरी, कालिजको आवाज आदिसँगै बिताएँ ।

घरबाट एक घण्टा जति माथि हिँडेर पुगिने जनकल्याण प्राबिबाट मेरो स्कुले जीवन शुरु भएको हो । मभन्दा अगाडि जेठादाइ पढ्दै हुनुहुन्थ्यो । मंगल सरले एकदिन दाइलाई पिट्नु भएछ, उहाँले स्कुल जानै मान्नुभएन । मंगल सर भनेपछि सबैजना थर्कमान हुन्थे । मैले आफ्नो पढाई मंगले सरले पिटे पनि निरन्तर दिई रहेँ । मेरो पढाई राम्रो थियो । म एक कक्षा देखि नै फस्टबोए थिएँ । मेरो मिल्ने साथी मेरै मामा पर्ने लोक थिए । उनी जहिले पनि दोस्रा हुन्थे । सबै सरले माया गर्नुहुन्थ्यो, मंगल सर बाहेक । मैले कप स्काउट पनि लिएँ । त्यो स्कुलमा रोमसरले स्काट सिकाउनुहुन्थ्यो । उहाँपछि स्काउटमा मलाई नै दोस्रो सिनियर बनाइदिनुभएको थियो । एक देखि छ कक्षा आउँदासम्म म र लोक जहिले पनि पहिलो र दोस्रो हुँदै आयौँ । छ कक्षादेखि माथि पढ्न रामेछाप बजारमा रहेको गौरीशंकर माबि (हाल उमाबि)मा जानु पर्थ्यो। घरबाट हाइस्कुलसम्म जान तीन घण्टा हिँड्नु पर्थ्यो। म केही साथीहरूसँग मिलेर रामेछाप बजारमै डेरा लिएर पढ्थेँ । आइतबार बिहानै एक हप्ताको लागि पुग्ने चामल बोकेर रामेछाप बजार आउने गर्दथेँ । यसैगरि मेरो हाइस्कुलको पढाइ शुरू भएको थियो । एकदिन चामल, किताबकापी, आफ्नो कपडा सहित झोला बोकेर आउँदै थिएँ । एक्कासी म बाटोको सानो ढुंगामा अल्झेर लडेँ । मलाई बेस्सरी प्यास लागीरहेको थियो । यताउति पानी खाने ठाउँ थिएन । मुख सुकेको अनुभव भयो । हात दुखेको अनुभव थयो । हातको कुहिना बाङ्गिएको थियो । एउटा साथीले अलिअलि तान्दियो । तैपनि सोझो भएन, झन् दुख्न थाल्यो । स्कुल पुगेपछि स्काउटका दाइहरूले नजिकैको अस्पताल पुर्याइ दिए । अस्पताल पुगेपछि त्यहाँको एचएले मेरो हात हेर्यो र ब्यान्डेज लगाएर काठमाण्डु जाऊ भन्दियो । घरमा खबर पुगेपछि भोलिपल्ट बा र त्यहीँ बजारको राबा बैंकमा कामगर्ने काकासँग काठमाण्डु आउने भएँ । त्यही दिन मन्थली झर्यौँ । काकाले बल्लतल्ल प्लेनको एउटा टिकट पाउनुभएछ । तर एउटा टिकटले म एक्लै आएर केही काम थिएन । त्सैले त्यो टिकट पनि फिर्ता गरेर एक दिन हिडेर नयाँपुल भन्ने ठाउँबाट जिरीको बस चढी काठमांडौँ आयौँ । अनि बीर अस्पतालमा अपरेसन गरेर प्लास्टर गरी म घर फर्केँ । पढाइ झन्डै पैँतालीस दिन जति रोकियो । तैपनि कक्षा छबाट सातमा जाँदा म तेस्रो र लोक चौथो भयौँ ।

यसरी छ कक्षाबाट सात त पुगियो तर त्यसबेला हुने अर्धबार्षिक जाँच दिए पछि मेरो मनमा काठमान्डु जाने रहर जाग्यो । अनि मानेदाइसँग काठमाण्डु लागेँ । काठमाण्डुमा मेरो आफन्त कोही थिएन । त्सैले त्यहि मानेदाइको मामाहरुसँगै तेसै बसियो। यसले गर्दा मेरो पढाइमा रोक लाग्यो। पछि घर फर्केर गएपछि बा र आमाले खुब गाली गर्नुभयो । अनि मलाइ पढाइको लागि एक पैसा पनि नदिने भन्नुभयो । मलाई भने पढाइ रोकिएकोमा पछुतो भै रहेको थियो । सँगैका साथीहरू माथिल्लो कक्षामा पढ्दै थिए । मैले जसरी भए पनि पढाइ थाल्छु भन्ने लागेर हरिबाजे र रामबाजेसँग पैसा रिन माँगेँ। उनीहरुले पनि मलाई पत्याए । त्यसपछि फेरि भर्ना भएर सात कक्षामै पढ्न थालेँ । दोस्रो भएर पास भएँ ।

म आठ कक्षा पढ्दै गर्दा तामाकोसी सेवा समितिले मेरो गाउँमा खानेपानी बनाउने योजनाका साथ प्रौढशिक्षाको पनि कार्यक्रम थालनी गर्नेभयो । जगदीश घिमिरे त्यसबेला तामाकोसी सेवा समितिका अध्यक्ष थिए । यहि बेलादेखि उनलाई मैले चिन्ने अवसर पाएको हुँ । गाउँले सबैले मलाई प्रौढशिक्षाको सहयोगी बन्न सिफारिस गरे । मैले मञ्जुर गरेँ । त्यसवापत मैले केही पारश्रमिक पाउँथैँ तामाकोसी सेवा समितिबाट । त्यो पैसाले मलाइ पढाइमा सघाउ पुग्थ्यो । गाउँमा भएको त्यो बिकासे कार्यक्रमको अवलोकनको सिलसिलामा वर्ल्ड नेबर्स काठमाण्डौबाट दक्षिण एशिया क्षेत्रीय प्रतिनिधि थोमस एल एरेन्स (टम) पुगेका थिए । त्यहाँको कामको नीकै प्रसंसा गरे उनले । मेरो गाउँबाट फर्कने क्रममा उसको खुट्टा दुखेर आफ्नो झोला बोक्न नसक्ने अवस्थामा थिए । मैले उसको झोला बोकेर मन्थलीसम्म पुर्याइदिएँ । उनी खुब खुसी भएर मलाई टिप्स पनि दिए । अनि काठमाण्डौ आउदा मलाई फोन गर्नू भनी उनले फोन नंबर भएको भिजिटिङ्कार्ड पनि दिए ।

आठ कक्षाको जाँच सकिसकेकोले म केहि हप्ताको हिउँदे बिदामा काठमान्डुतिर रोमसरसँग घुम्न जाने भएँ । यसैबेला टमलाई पनि फोन गरेँ । उनले मलाई के सहयोग चाहिन्छ भनेर सोधे । मेरो पढाइको लागि बाले खर्च दिनुहुन्न, म आफैंले जिनोतिनो गरेर खर्च जुटाउदै पढ्दैछु, यदि सक्नुहुन्छ भने मलाई जागिर दिनु भए हुन्छ भनि सोझै भनेँ । उनले सजिलै हुन्छ भने । म घर पुग्दा रिजल्ट पनि भैं सकेछ । रामेछापबाट आठको मार्कशिट निकालेर गोदावरीको टौखेल स्थित किटिनी माबिमा भर्ना भएँ । यता मेरो पार्टटाइम जागिर पनि थियो साथसाथै पढाइ पनि । आफूलाई खुब भाग्यमानी सम्झन्थेँ । किटिनीबाटै मैले एसएलसी पास गरेँ २०५४ सालमा । त्यपछि १०+२ पढ्न कुमारीपाटीको प्रसादी एकेडेमीमा भर्ना भएँ । अनि पास गरेँ । त्यसपछि मेरो फुलटाइम जागिर र पढाइ एकैचोटी लैजान गाहारो हुँदै गयो । फलत: मेरो पढाइ लगनखेलको नमूना मच्छिन्द्र कलेजमा गएर टुंगियो । यता नेपाल कमर्स क्याम्पस मिनभवन तिर नधाएको पनि होइन । तर मैले जागिरलाई नै महत्व दिएँ । जागिर भएन भने मैले के खाने, के लाउने, के गर्ने भन्ने थियो र छ पनि । २०६० सालको असार ८ गतेबाट दुईजनाको परिवार भयो । अहिले छोरीसहित तीनजनाको परिवार छ । जागिरले मलाई खाँदैछ, यहि काठमाण्डौंमा, म जागिर खाँदैछु ।

No comments:

Post a Comment