Wednesday, November 11, 2009

गोरू उठेन

घंगारूको लठ्ठीले हिर्काएँ,
फेरि हिर्काएँ,
गोरू उठेन ।
पुच्छर बटारेँ,
अझै भाँचे,
गोरू उठेन ।
स्वास्नीलाई कराएँ,
छोरालाईँ कराएँ,
गोरू उठेन ।
पानी छ्यापेँ,
हिलोमा गाडेँ,
गोरू उठेन ।
भाइलाई गुहारेँ,
छिमेकीलाई सुनाएँ,
गोरू उठेन ।
पसिना पुछेँ,
खुइया गरेँ,
गोरू उठेन ।
घाम डुब्नै लाग्यो,
चराहरू बास खोज्न थाल्यो,
गोरू उठेन ।
जे सुकै होस्,
बारीमै बास परे नि परोस्,
गोरू उठेन ।
रात पर्यो ,
डरडर लाग्यो,
गोरू उठेन ।
फेरि पसिना पुछेँ,
हलो छोडेँ,
गोरू उठेन ।
कस्लाई के थाहा?
मैले हलो अड्काको,
गोरू उठेन ।
गोरू उठेन ।।

2 comments:

  1. हलो अड्काएर गोरु चुटेर मार्दिनु भएछ नि😂

    ReplyDelete