Showing posts with label कलेज. Show all posts
Showing posts with label कलेज. Show all posts

Tuesday, May 01, 2012

दिनभरि

पीँ... पीँ... ह्वाँई.... ह्वाँई......ई...
कलेज जान लागेछन्
जुँगेदाइका छोराहरू
ओ हो बिहान भैसकेछ।

सधैँको नित्य कर्म
सधैँ हतारै हतार
अरू झन् मभन्दा हतार देखिन्छन्
ओ हो कति धेरै गाडीहरू पनि
टीँ... टीँ... ट्याँ... ट्याँ... टेँ... टेँ...
धूलो अघ्घोर उढ्दो
माक्स त लाउनु मात्रै।

एउटा ठेट्ना हुँइकिदै आयो मोटर साइकलमा
एक्कास्सी बसको पाङ्ग्रामुनि
धन्न दरो भाग्य उसको,
कुल्चेन!
स्कूले बस कुर्दै गरेकी मेरी छोरी
चिच्याउँदै आँखा छोपिई।

सबैलाई हतारै हतार
गुन्द्रुक कुहाउने बट्टाजस्तो माइक्रोबस
खलासीभाइको के कुरा
नकचरो बोली कहिल्यै सुधार्दैन
जसोतसो पुगिन्छ अड्डा
हातमुख जोड्ने अड्डा
भगवान अड्डा
जम्मै अड्डा।

हे दैव!
आगलागी पिडितलाई कपडा संकलन गर्ने
चर्चा चलिरहँदा
एक्कास्सी
आङ जिरिङ्ग हुने समाचार
चार जनाको जीवन लिला सक्ने गरि
जनकपुरको भयानक बम आक्रमण
एघार महिना फरार अपराधी
आजै आत्मसमर्पण पछि रीहा
छ्या कति दु:खद समाचार मात्रै
कहिल्यै शान्ति नहुने हाम्रो देश
कहिल्यै अपराधीले सजाय नपाउने
कहिल्यै भ्रष्टाचारमुक्त नहुने
कहिल्यै ....।

अँध्यारोले डेरा खोज्ने बेलातिर
आफू पनि
काँधेझोला भिर्दै
उही गुन्द्रुके माइक्रोबसको यात्रा
टिँ... टिँ... ट्वाँ... ट्वाँ....आ... आ....
कत्ति बज्छन् हरन पनि
धूलो,
उही खलासीभाइ।

मैनबत्तीको धिपधिपेमा
दालभातको स्वाद पनि अर्कै हो कि जस्तो
टिभी हेरूँ बिजुली छैन
एफएम सुनुँ
च्यार च्यार बढी आउँछ
जसोतसो बीबीसी नेपाली सुनियो।

सुत्नु पर्ला भन्ने सूर कस्दै थिएँ
फ्याट्टै बिजुली पनि आयो।
फिलिम हेर्ने रहरले 'उडान' लगाएँ
तीनचार चोटी भावुक बनायो।

सोचेँ अव चाहिँ पक्कै सुत्छु
तर..
सुनसान... कति सुनसान?
पारी बाँनियाटारमा एक्लै भुक्दैछ एउटा कुकुर
मनमनै भनिरहेछु
शहर त मर्‍यो कि क्या हो?

निँद्रा लागेन
तेसैले त यो लेखिरहेछु।
नेट पनि आज चलेको छैन,
भोलि पोष्ट गर्नु पर्ला।
साँच्चै शहर त मर्‍यो कि क्या हो?
हि...हि...

भोलि आच्च्या... आज त बिदा पो त, सुत्छु मज्जाले।
०१:३५, मे १, २०१२