Showing posts with label गिरिजा. Show all posts
Showing posts with label गिरिजा. Show all posts

Thursday, December 11, 2008

गिरिजा, प्रचण्ड र नयाँ नेपाल

कान्तिपुर दैनिक (Dec 8, 08) को मुख्य समाचार हेरेपछि मेरो मनमा निकै प्रश्नहरु उब्जिए । शीर्षक थियो "नत्र सरकार छाड्छौँ’ - प्रचण्ड, ‘सरकार असफल भयो" - गिरिजा । म त द्विविधामा परेँ । यो देश कस्ले चलाइरहेको छ? र यी अभिव्यक्तिहरु कस्का लागि आइरहेछन्? यस्ता खाले हावादरी गफले नेपालको संबिधान बन्छ? यदि तोकिएको समय भित्र संबिधान बनेन भने नेपालको भविश्य के होला? यसका लागि को जिम्मेवार, नेता कि जनता वा अरु कुनै बिदेशी? नेपाली जनताले यो देश कस्ले चलाऊन भनेर अधिकार दिएका हुन् हँ?

अब प्रचण्डका कुरा गरौँ । प्रचण्डले सरकार छाड्ने धम्की जुनसुकै भाषणमा पनि दिइरहेका छन् । उनको भनाइ अनुसार - काँग्रेसले सहयोग नगरे यहि पुस महिना भित्र सरकार छाडेर जनतामाझ जाने । हैन यिनी अहिले जनता माझ नभएर संसारको कुन दुलोमा छन् हँ? यिनी जनता कै हितका लागि संबिधान बनाउन भनेर सरकारमा गएका होइनन् र? अनि जनता माझ आफू नभएको किन महसुस गरे यिनले? फेरि त्यो संबिधान बनाउन जनता माझमा नबनाएर कसको काखमा बन्दै छ त? प्रधानमन्त्री जस्तो देशको शक्तिशाली जिम्मेवार पदमा बस्ने ब्यक्तिले दिने अभिव्यक्ति त्यही हो त? के उ जनता प्रति अलिकति पनि जिम्मेवार छैन?

उनको अर्को कथन छ - परम्परागत ढंगबाट चल्ने प्रधानमन्त्री होइनन् रे, नयाँ ढंगले चल्न नसके सरकार छाडेर जनतामाझ आउने रे । नयाँ ढंग देखाउन उनले केहि गतिला काम त्यागेर देखाएका छन् । जस्तै, जंगल, दउरासुरुवाल, बालुवाटारको प्रधानमन्त्री सुत्ने पुरानो खाट, पुरानो यैशआरामका सामान, पुरानो कार (सिँहदरवार भित्र फ्याँकिएको अवस्थामा रहेका कारहरू हेरे मात्र पुग्छ) आदि इत्यादि ।

मैले यहाँ निर नबुझेको के भने, बिजयकुमार गच्छादार जस्ता पुराना भ्रष्ट मन्त्रीहरु चाहिँ त्यागेका छैनन् । पुराना कर्मचारीहरू पनि त्यागेका छैनन् । पुरानो श्रीमति त्यागेका छैनन् (बरू उल्टै सरकारी ढुकुटीबाट बिदेश शैर गराएर ल्या’का छन्) । पुरानो छोरा त्यागेको छैन (उनी त झन् नीजी कम्प्युटर सहायक भएका छन्, नेपालभरि जनताका छोराछोरी कम्युटर अपरेटर हुन लायक नपाएर हो कि?) । पुरानो छोरी त्यागेको छैन । हेलिकोप्टर चढ्न त्यागेका छैनन् बरू ब्यस्त छन् दिनहुँ भाषण दिन । पुरानो बालुवाटार छोडेको छैन । पुरानो पार्टी त्यागेको छैन । देश त्यागेको छैन (पारसले जस्तो) । आफूभन्दा ठूलो ठूलो माला लाएर फोटो खिचेकै छ, जुन पैले राजाले पनि गर्थे, गिरिजाहरूले पनि गर्थे । सैनिक सलामी त्यागेको छैन । उद्योगधन्दा बन्द गर्ने काम त्यागेको छैन । मान्छे मार्ने काम त्यागेको छैन । चन्दा उठाउने काम त्यागेको छैन । मैले बुझेको त परम्परागत ढंग त्याग्ने भनेको त उनी भन्दा पहिलेका प्रधानमन्त्रीले गरेका सम्पूर्ण कुराहरु त्याग्नु पर्ने जस्तो लाग्छ । अनि खोइ त त्यागेको ? । अनि भन्ने पुरानो परम्परागत ढंगले चल्न नसक्ने? ती सब त्याग्यो भने नयाँ ढंगले चल्न किन नसक्नु ?

अब कुरा गरौँ गिरिजाका । उनी सत्ताबाट बाहिरिए बित्तिकै नयाँ सरकारलाई कैले फू.... गरेर ढाल्ने कुरा गर्छन् । कैले ग्राइण्ड डिजाइन अन्तर्गत ढल्ने कुरा गर्छन् । कैले के भन्छन् कैले के भन्छन् । यिनी सरकार ढाल्ने बाहेक केहि कुरा गर्दैनन् । अहिले पनि भन्दै छन् – ‘शान्ति, स्थिरता र सुशासन कायम गर्न सक्दैन भने माओवादी जहाँबाट आएको हो त्यहीँ गए हुन्छ’ रे । के यिनका पालामा चाहिँ सुशासन, स्थिरता थियो त? कि उ प्रधानमन्त्री हुने बेलामा चाहिँ सबै ठीक देख्ने अनि सत्ता बाहिर हुनासाथ बेठीक देख्ने? लौ ठीक छ, शान्ति, स्थिरता र सुशासन छैन भने यहि सरकारमा गएर भए पनि त्यो गति दिनु गिरिजाको पनि जिम्मेवारी छैन ? खाली सरकार टिक्दैन, सरकारले राम्रो गर्न सकेन मात्र भन्ने? यो देश राम्रो बनाउनु छ भने, हिजोका सबै नराम्रा कुराहरू बिर्सेर संबिधान बनाउने तिर किन ध्यान जाँदैन यिनको? सरकार असफल भएको छ भने तेस्लाई गिराउने खेल खेल्ने कि त्यसलाई राम्रो बनाउने तिर लाग्ने? जे होस बिराटनगरबाट कुर्लन सुरू गरेर पश्चिमनेपालतिर बिसाएका थिए । काठमान्डु आइपुग्ने बित्तिकै सिधै अस्पताल तिर पो दौडाउन पर्यो । बूढाको स्वास्थ्य स्थिति भने तेस्तो छ, सत्ताको लागि चाहिँ मरिमेट्दो छ । जेहोस् स्वास्थ्यलाभको कामना त दिनै पर्यो ।

र अन्तमा, यो देश गिरिजा र प्रचण्डको पौरखले समुन्नत नेपाल बनोस भन्ने सपना सहित शुभकामना दिन चाहन्छु ।