Showing posts with label नेपाल. Show all posts
Showing posts with label नेपाल. Show all posts

Friday, January 28, 2011

याद आइरहेको गाउँ

एकादेशमा एउटा शहर थियो
शहरको पल्लोपट्टि एउटा गाउँ थियो
गाउँको माथितिर एउटा डाँडा थियो
पिकनिके डाँडा

मान्छेहरू

पिकनिक खान डाँडा चढ्थे
कोही खुइ... खुइ.... गर्थे
कोही पसिना पुछ्थे
नानीबाबुहरू डौडन्थे
कोही लमक लमक लम्कन्थे
कोही ढोंडको लौरो समाउथे
जसोतसो डाँडा पुग्थे

अनि

वारि पारि हेर्थे
हत्केलाको छेकिनिले घाम छेक्थे
कोही गम्भिर हुन्थे
कोहि मुसुमुसु हाँस्थे
कोहि एकनास टोलाउँथे
कोही केहि बोल्न खोज्थे
आहा कति राम्रो महाभारत डाँडा भन्थे
कति राम्रो नागबेली सुनकोशी बगेको भन्थे
उत्तरतिर फर्कन्थे
तेसै गर्थे
आहा कति राम्रो गौरीशंकर भन्थे
फोटो खिच्थे

ज्यानै त हो

भोकभोक लाग्न थाल्थ्यो
खाजापानी खान्थे
नयाँ नयाँ गित बजाउँथे
कोही नाच्थे
कोही कराउँथे
कोही काटकुट गर्थे
कोही पकाउँथे
कोही मद्यपान गर्थे
कोही धूमपान गर्थे
जोडीहरू छेउ लाग्थे
आहा मनका कुरा साट्थे
उरण्ठेउलाहरू गिज्याउँथे
तरूनी भएतिर पुग्थे

दिन ढलेपछि

कोही लर्खराउँदै कराउँथे
कोही गित गाउँथे
कोही निन्याउरो हुन्थे (सायद प्रेमी-प्रेमिकामा धेरै कुरा भयो)
नानीबाबुहरू रमाइ कराउँथे
यसै गरि पिकनिक मनाउँथे

तर बर्तमान!

डाँडाको दुबो मडारिदैनन्
फोटा खिचिदैनन्
नयाँ नयाँ गितहरू बज्दैनन्
नाच हुदैनन्
हल्ला हुदैनन्
-
पढ्न सक्नेले पढेकाछन्
तातो रगत हुनेले बन्दुक बोकेकाछन्
बोल्न सक्ने नेता भएकाछन्
बोल्न नसक्ने कुटिएका छन् लखेटिएकाछन्
काम गर्नसक्ने खाडी, मलेसिया गएकाछन्
पैसा हुने युरोप, जापान, अमेरिका छिरेकाछन्
-
त्यहि त हो नि मेरो गाउँ
म जन्मेको गाउँ
म हुर्केको गाउँ
याद आइरहेको गाउँ